कटहरियामा सञ्चारकर्मीमाथि कुटपिट, पत्रकार महासंघको विरोध


eShilalekh

३० जेष्ठ २०८२, शुक्रबार १३:२९

रौतहटः कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालको नेतृत्वमा सञ्चारकर्मीमाथि भएको कुटपिट र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै विरोध गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्र र रौतहट शाखाले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीमाथि भएको कुटपिटको विरोध गरेको हो ।

कटहरिया म्यूजिकल एफएममा कार्यरत रविन्द्र प्रजापति र सागर संगम ठाकुरलाई खानेपानीसम्बन्धी समाचार प्रसारणपछिको प्रतिक्रियामा नगरप्रमुख जयसवालको समूहले घरभित्र थुनेर कुटपिट र गालीगलौज गरेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

समाचारबाट असन्तुष्ट नगरप्रमुखले कानुनी प्रक्रिया अवलम्बन नगरेर सञ्चारकर्मीमाथि व्यक्तिगत आक्रमण गर्ने जस्तो अराजक कदम चालेको महासंघको ठहर छ । महासंघले घटनालाई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला, अशोभनीय र गैरजिम्मेवार कार्यको रूपमा व्याख्या गर्दै तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल र रौतहट शाखाका सचिव गौतम श्रेष्ठले विज्ञप्ति जारी गरेका हुन् । महासंघले यस्ता घटनाले स्वतन्त्र, सुरक्षित र निर्वाध पत्रकारिता अभ्यासमा बाधा पुग्ने बताउँदै सम्पूर्ण सञ्चारकर्मीको हक र सुरक्षाको प्रत्याभूति गरिनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्