मधेशको शिक्षा मन्त्रालयले हरेक स्थानीय तहका एक शिक्षकलाई पुरस्कृत गर्ने

सिमराः मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशभरको एक सय ३६ वटै स्थानीय तहका एक उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने भएको छ । ‘एक पालिका, एक उत्कृष्ट शिक्षक’ पुरस्कार’ कार्यक्रम अन्तर्गत मन्त्रालयले सात दिनभित्र योग्य शिक्षकको सिफारिस गर्न स्थानीय तहलाई पत्राचार समेत गरेको छ ।
आर्थिक वर्ष २०८१।०८२ को योजना अनुसार मन्त्रीस्तरबाट भएको निर्णयका आधारमा मन्त्रालयले असार २ गते सबै पालिकाहरुलाई पत्राचार गर्दै उक्त सिफारिसको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो । सिफारिसका लागि शिक्षण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्थायी शिक्षकहरूलाई छनोट गर्न भनिएको छ ।
मन्त्रालयका शाखा अधिकृत राम हृदय यादवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार शिक्षक छनोटका लागि शिक्षकले अध्यापन गरेको तह र विषय अनुसार सबैभन्दा माथिल्लो कक्षाका विद्यर्थीको अन्तिम परीक्षाको नतिजा, शैक्षिक सत्र २०८१ मा विद्यालयमा शिक्षकको उपस्थित दिन, अध्यापन गरेको विषयमा गरिएको अनुसन्धान प्रतिवेदन, सेवा अवधि, शिक्षण कार्यबाहेक लिएको अतिरिक्त जिम्मेवारी र समुदाय, अभिभावक, विद्यालय परिवार तथा विद्यार्थीसँगको सम्बन्धलाई मापदण्ड बनाइएको छ ।
मधेश प्रदेश सरकारको यस कार्यक्रमले शिक्षण पेशाप्रति सम्मान प्रकट गर्नुका साथै शिक्षकहरुलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ । मन्त्रालयले सिफारिस पाउने शिक्षकहरूलाई विशेष सम्मान स्वरूप पुरस्कृत गर्ने जनाएको छ ।
