सांसद चौधरीले गरे निर्माणाधीन सडकको अनुगमन, गुणस्तीय काम गर्न दिए निर्देशन


eShilalekh

३ असार २०८२, मंगलवार १५:३८

सिमराः मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को रामबन हुँदै राधाकृष्ण मन्दिरबाट जनहित उपभोक्ता समिति सिमरा जोड्ने सडक निर्माण कार्यको अनुगमन गरेका छन् । रामबन क्षेत्रबाट सुरु भएको सडक निर्माणको अवस्थाबारे अनुगमन गर्दै सांसद चौधरीले निर्माण कार्य गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा सांसद चौधरीले प्रदेश पूर्वाधार विकास कार्यालयका प्रमुखसँग छलफल गर्दै इन्जिनियरसहितको प्राविधिक टोली तुरुन्तै खटाई कामको गुणस्तर सुनिश्चित गर्न आग्रह गरे। उनले सडक निर्माणमा ढिलासुस्ती नगर्न चेतावनी दिँदै समयमा काम सम्पन्न गर्न ठेकेदार र सम्बन्धित निकायलाई निर्देशन समेत दिए।

सडक निर्माणले रामबन, मुसहर्निमाई, राधाकृष्ण मन्दिर क्षेत्रका बासिन्दालाई सहज पहुँच प्रदान गर्ने र आर्थिक तथा सामाजिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सडक अनुगमन कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, वडा नं. ३ कार्यबाहक वडाध्यक्ष माया विक, स्थानीय नेता कमल देवकोटा, शुक्र श्रेष्ठ, शंकर लामा, अनिता खत्री, ईश्वरी लामा, कुवेर न्यौपाने, रविन्द्र खकुरेल, कमरुल होदा अन्सारीलगायतको सहभागिता रहेको थियो।

स्थानीयवासीले सडक निर्माण प्रारम्भ भएकोमा खुशी व्यक्त गर्दै कामको गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन्। जनहित उपभोक्ता समितिले पनि स्थानीयको सक्रिय सहभागितामार्फत निर्माण कार्यको निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्