लागूऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ

सिमराः जनकपुरकी महिला लागूऔषध बेचबिखनको आरोपमा काठमाडौंबाट पक्राउ परेकी छिन् ।
जनकपुर घर भइ हाल काठमाडौं १५ बस्ने २० वर्षीय मनिषा ठाकुरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले उनको कोठामा खानतलासी गरेको थियो । सो क्रममा ठाकुरको कोठाबाट २१ हजार पाँच सय पिस ट्याब्लेट ट्रमाडोल, दुई सय ६० पिस फेनारगन, दुई सय ६० पिस डाइजापा र दुई सय ६० पिस नुर्फिन बरामद भएको छ ।
खानतलासीको क्रममा दुई लाख २५ हजार आठ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
ठाकुरविरुद्ध लागु औषधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।