पर्सामा बाल विवाह सम्बन्धी कसुरमा एक महिला पक्राउ

सिमराः पर्सा प्रहरीले बाल विवाह सम्बन्धी कसुरमा बुधबार एक महिलालाई पक्राउ गरेको छ ।
पर्साको शिवर्वा गाउँमा १३ वर्षीय नाबालिकालाई जबरजस्ती विवाह गराएको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको नाम, थर र वतन गोप्य राखिएको छ ।
असार १ गते प्राप्त जाहेरीका अनुसार, पक्राउ परेकी महिलाले आफ्नै छोरीलाई चार लाख ८० हजार रुपैयाँ नगद लिई विभिन्न प्रलोभन देखाएर उमेर नपुगेको अवस्थामा अन्तरजातीय विवाह गराएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिएका छन् । विवाह गराइएका पुरुष नाबालिकाभन्दा तीन गुणा बढी उमेरका छन् ।
पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।