सप्तरी र धनुषामा सवारी दुर्घटनाबाट दुई पैदलयात्रीको मृत्यु


eShilalekh

७ असार २०८२, शनिबार १८:०९

सिमराः सप्तरी र धनुषामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजना पैदलयात्रीको मृत्यु भएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका ३ कचनदाहास्थित सडकमा ट्याक्टरको ठक्करबाट ५५ वर्षीय मागैनय खंग खत्वेको शुक्रबार राति मृत्यु भएको हो।

कठौनाबाट कचनदाहातर्फ जाँदै गरेको प्र.२-०१-००१ त ०९०९ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका खत्वेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । खत्वेको उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनुषाको मिथिला नगरपालिका ६ स्थित सडकमा ढल्केवरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सिराहा धनगढीमाई नगरपालिका ६ बसनपुर निवासी ५५ वर्षीय बिन्देश्वर महराको मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोडल अस्पताल, लालगढ लगिएको थियो । महराको उपचारकै क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधन फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्