वीरगन्ज आउँदै गरेको ट्रकबाट ३१९ किलो चरेश बरामद, चालक पक्राउ

वीरगन्जः काठमाण्डौबाट वीरगन्जतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेश फेला परेको छ। प्रहरीले ट्रकसहित चालकलाई समेत नियन्त्रणमा लिएको छ।
प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकमा चरेश लोड गरी ल्याइएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका २१ स्थित परवानीपुर चोकको सडकखण्डमा ट्रक फेला पारेको हो ।
ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका १२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाइएको अवस्थामा १३ वटा पोकामा रहेको तीन सय १९ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ।
चालक स्याङ्तानले लगाएको कपडाको खल्तीबाट एक लाख बयानब्बे हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ । पक्राउ परेका चालकलाई लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।