बारामा ४३ लाखभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा


eShilalekh

१३ असार २०८२, शुक्रबार १५:२४

सिमराः बारा प्रहरीले बिल बिजक भन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । राजश्व छलीको आशङ्कामा सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक जङ कार्कीको नेतृत्वमा खटिएको प्रहरीले टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा सवारी जाँचका क्रममा करिब ४३ लाखभन्दा बढीको राजश्व छलीको आशङ्कामा सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित प्रहरी चेकप्वाइन्टमा मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई प्रहरीले जाँच गरेको थियो । प्रहरीका अनुसार ट्रकमा फाइल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामान लोड गरिएको थियो ।

प्रारम्भिक मूल्याङ्कन अनुसार जफत गरिएको सामानको अनुमानित बजार मूल्य ४३ लाख ३४ हजार आठ सय १० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्तोष कुमार तामाङले जनाएका छन् ।

सामान तथा ट्रक दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्