जगदम्बा स्टिल्सले त्रास बढाइरहेको छ, उद्योग स्थानान्तरण हुनुपर्छ: सांसद श्रेष्ठ

सिमरा: बारा क्षेत्र नं. १ का सांसद एवम् पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले जगदम्बा स्टिल्समा बुधबार राती भएको भट्टी विस्फोटको घटनाले स्थानीय स्तरमा त्रास थपेको भन्दै उक्त घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
घटनापछि आफ्नो धारणा सार्वजनिक गर्दै सांसद श्रेष्ठले विगतदेखि नै सिमराको वातावरणमा नकारात्मक असर पार्दै आएको उद्योगभित्र पछिल्लो विष्फोट घटनाले जनतामा त्रास अझै बढाएको बताए ।
`मानव स्वास्थ्यसंग निरन्तररुपमा खेलबाड गर्दै आएको जगदम्बाको पछिल्लो घटनाले त्रास बढाएको छ´ सांसद श्रेष्ठले भने `यो घटनाको उचित छानबिन हुनुपर्छ र वास्तविक कारण बाहिर आउनुपर्छ ।´
भट्टी विष्फोट हुँदा उद्योग वरपरको बस्तीमा कम्पन भएको थियो । भूकम्प महसुस हुने गरि घर हल्लिन थालेपछी स्थानीयबासी त्रसिद बनेका थिए । घटनालगत्तै स्थानीय उद्योग घेराउ गर्न पुगेका थिए ।
मानव स्वास्थ्यसंग उद्योगले खेलबाड गरिरहेको भन्दै सांसद श्रेष्ठले विष्फोटको घटनाबारे सत्यतथ्य बाहिर ल्याउनका लगि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेका छन् । उनले जोखिमपूर्ण भट्टी पुनः सञ्चालन गर्ने तयारी रोक्न स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएका समेत छन् ।
विगतमा पनि जगदम्बा स्टिल्सभित्र यस्ता प्रकृतीका घटना हुँदै आएको छ । यस्ता घटनामा हुने क्षतिको विवरण उद्योग प्रशासनले गुपचुप राख्दै भट्टी संचालन गर्दै आएको छ ।
बस्तीको बीचमा उद्योग संचालन हुँदा वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर परेको जनाउँदै सांसद श्रेष्ठले उक्त उद्योग स्थानान्तरण गर्न माग गरेका छन् । सांसद श्रेष्ठले उद्योगलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नीति, कार्ययोजना र कानुनी प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गरेका छन् ।