मधेश प्रदेश सभाको बैठक आज बस्दै

सिमराः मधेश प्रदेश सभाको बैठक आइतबार पुनः बस्न लागेको छ । लामो समयदेखि स्थगित रहेको प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि तय गरिएको सचिवालयले जनाएको हो ।
यसअघि असार १२ गतेका लागि बोलाइएको पाँचौँ अधिवेशनको १३औँ बैठक सुरु हुनुअघि नै सूचना जारी गरेर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सो बैठकमा आर्थिक वर्ष २०८२।०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।
आजको बैठकमा पनि सोही बजेटमाथि सामान्य छलफल अघि बढाइने छ । सभामुख रामचन्द्र मण्डलले रेडबुक अध्ययनको समय आवश्यक भएको भन्दै अघिल्लो बैठक स्थगित गरेका थिए ।
असार ११ गतेको १२औँ बैठकमा प्रदेश सांसदहरूलाई रेडबुक वितरण गरिएको थियो । तर उक्त बैठकमा दुई सांसद मात्र छलफलमा सहभागी हुन पाएका थिए ।
बजेटबारे पर्याप्त अध्ययन नपुगेको भन्दै सभामुखले अर्को बैठक असार १२ गतेका लागि तोके पनि बैठक नबसी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।