जगदम्बा स्टील्सको भट्टीविरुद्ध राजनीतिक दलः मेयरपछि सिडिओलाई बुझाए ज्ञापन

सिमराः जगदम्बा स्टील्सको जोखिमपूर्ण भट्टी संचालनमा रोक लगाउन माग गर्दै आएका राजनीतिक दलका स्थानीय नेताले सोमबार बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापनपत्र बुझाएका छन् । कलैयास्थित जिल्ला प्रशासन कार्यालय बारा पुगेर सात राजनीतिक दलको जीतपुरसिमराका नेताले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बस्तीको बीचमा मानव स्वास्थ्य र वातावरणलाई जोखिम हुने गरी उद्योगले संचालन गरेको भट्टी तत्काल रोकिनुपर्ने माग उनिहरुको छ । असार १८ गते राति उद्योगको सिसिएम प्लान्टमा भएको भट्टी विष्फोटको घटनायता राजनीतिक दल विरोधमा छन् ।
जगदम्बाको पछिल्लो घटनाविरुद्ध सात राजनीतिक दल एकै ठाउँमा उभिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले सिडिओलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कांग्रेस सभापति छविलाल शर्मा, एमाले अध्यक्ष त्रिलोकविक्रम शाह, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी, समाजवादीका अध्यक्ष सञ्जय पटेल, लोसपाका अध्यक्ष सरोज पटेल र जनमतका अध्यक्ष मनोहर साहले हस्ताक्षर गरेका छन् ।
ज्ञापनपत्रमार्फत उनिहरुले स्थानीयको स्वास्थ्यमाथि उद्योगले गर्दै आएको ज्यादती तत्काल नियन्त्रण गर्न माग राख्दै प्लान्टमा भएको विष्फोट घटनाको छानविन गर्न समेत माग गरेको छ । उनिहरुले घटनापछिको त्रासदीपूर्ण वातावरणलाई गम्भीरताका साथ लिन स्थानीय प्रशासनसंग आग्रह गरेको छ ।
असार १८ गते कच्चा पदार्थ पगाल्ने भट्टी विष्फोट हुँदा उद्योग वरपरको घर समेत हल्लिएको थियो । उक्त विष्फोटमा एक जना मजदुर घाइते भएको उद्योगको भनाई छ । तर भूकम्पको महसुस हुने गरी घर हल्लिदा भएको भट्टी विष्फोटको घटनामा ठूलै क्षति भएको हुनसक्ने अनुमान स्थानीयको छ ।
उक्त उद्योगमा यसअघि पनि पटकपटक जनधनको क्षति हुने गरी विष्फोटको घटना हुँदै आएको छ । स्थानीय सरकार र स्थानीयबासीले यसअघि पनि उद्योग भित्रको जोखिमपूर्ण भट्टी संचालनमा रोक लगाउँन माग गर्दै आएकका थिए । तर उद्योगले अटेर गरेर भ्टटी संचालन गरेको राजीनतिक दलको ठहर छ ।
उद्योगले वातावरण समेत प्रदुषित बनाईरहेको छ । वातावरण प्रदुषण नियन्त्रणमा उद्योग प्रशासन गम्भीर देखिदैन । उद्योगले गर्दै आएको प्रदुषण रोक्न जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ ।
उद्योगको जोखिमपूर्ण भट्टी र वातावरण प्रदुषण नियन्त्रण गरी स्थानीयबासीको हितमा काम गर्नगराउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको एमाले नगर अध्यक्ष शाहले इशिलालेखलाई बताए । राजनीतिक दलले यसअघि आइतबार जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललाई समेत ज्ञापनपत्र बुझाएका थिए ।
उद्योगमा भएको भट्टी विष्फोटको घटनामा बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले समेत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टी संचालनमा रोक लगाउन माग गरिसकेका छन् ।

