चिकित्सकले गरे देशभरका अस्पताल बन्द, आकस्मिक भने खुल्ने

सिमराः नेपाल चिकित्सक संघको आह्वानमा सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पताललाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन् ।
उपभोक्ता अदालतले ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई एक करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।
चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन, २०७५ र मुलुकी अपराध संहिता, २०७४ मा रहेका बाझिएका प्रावधानहरू संशोधन गरी चिकित्सकीय मुद्दाहरूको कारबाही मेडिकल काउन्सिलमा सीमित गर्न माग गरेको छ । आन्दोलनको पहिलो चरणमा असार १७ गतेदेखि कालोपट्टि बाँधेर सेवा प्रदान गरिएको थियो भने सोमबारदेखि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा नौ वटा स्वास्थ्य संस्थाले ऐक्यवद्धता जनाएका छन् ।