मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्रको रूपमा घोषणा

सिमराः मधेश प्रदेश सरकारको बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्रको रूपमा घोषणा गरेको छ ।
देशका विभिन्न भागमा बर्षापछि आएको बाढी र पहिरोले जनजीवन प्रभावित भइरहँदा मधेस प्रदेश सरकारले भने मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
मनसुनको समयमा पनि वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न मधेश प्रदेश सरकारले आह्वान गरेको छ ।
मधेश सरकारले खानेपानी संकट समाधानमा संघीय खानेपानी मन्त्रालयसँग सहयोगको अपिल गरेको छ ।