सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित


eShilalekh

२७ असार २०८२, शुक्रबार १३:२६

सिमराः सरकारसँग सहमति भएपछि सुनचाँदी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

बिहीवार अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । सहमतिसँगै देशभरका सुनचाँदी पसलहरू शुक्रबारदेखि नियमित सञ्चालनमा आएका छन् ।

सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार सुनचाँदी तथा रत्न आभुषणको कारोबार र त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि विभिन्न निर्णयहरू भएका छन् ।

स्थानीय सुनचाँदी तथा रत्न आभुषण व्यवसायीको सहज पहुँच हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्न र वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्ने सहमति भएको छ ।

यस्तै सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानूनी तथा नीतिगत व्यवस्था, छिमेकी देशमा लाग्ने राजस्वका दरसँग सामञ्जस्यता कायम गर्नेलगायतका विषयमा सिफारिश गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्