पथलैयामा लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

१ श्रावण २०८२, बिहीबार ११:३३

सिमराः बारा प्रहरीले बुधवार दिउँसो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका ३ मधुवनगोठमा ५४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । प्रहरीले उनलाई बाराको पथलैया चोकबाट सात किलो चार सय ७० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको नेतृत्वमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका पथलैया चोकमा नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना५ख ४८२२ नम्बरको यात्रुवाहक बसलाई जाँच गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जाँचका क्रममा बसमा सवार चौधरीको साथमा रहेको कालो झोला खानतलासी गर्दा त्यसमा लुकाएर राखिएको गाँजा बरामद भएको हो ।

पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्