रौतहटबाट लागुऔषधसहित २ जना पक्राउ


eShilalekh

१ श्रावण २०८२, बिहीबार १९:३१

रौतहट: रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रौतहट राजदेवी नगरपालिका ८ लक्ष्मिपुर टोलका २३ वर्षीय नितेशकुमार पण्डित र सोही ठाँउका ३२ वर्षीय पिन्टुकुमार यादव रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरिक्षक राम कुमार महतोको नेतृत्वमा खटिएको संयुक्त टोलिले गौर नगरपालिका १ स्थित शुभम होटल अगाडी बीआर०५यू५८६० नम्बरको भारतीय मोटरसाइकलमा सवार दुवैजनामाथी शंका लागि जाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नाइट्रोभेट–१० ट्याबलेट एक हजार आठ सय, नेटज़केयर–१० ट्याब्लेट एक हजार दुई सय, डाइजिपाम तीन सय एम्पुल, फेनेर्गन तीन सय एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन तीन सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

साथै दुई थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको छ ।

पक्राउ परेका दुवैजनालाई लागुऔषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्