जनकपुरको होटलमा एक युवकको हत्या, अनुसन्धान जारी


eShilalekh

४ श्रावण २०८२, आईतवार १९:१४

जनकपुरः धनुषाको जनकपुरस्थित एक होटलमा शनिबार राति धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

हत्या हुनेमा महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय बिमलेश यादव रहेका छन्। उनको जनकपुरको जिरोमाइलस्थित ‘होटल एसपी एन्ड गेस्ट हाउस’ मा हत्या भएको हो।

प्रहरीका अनुसार राति करिब ३ बजेको समयमा यादवलाई होटलको पहिलो तल्लाबाट खसालिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारकालागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । तर उपचारको क्रममा आइतबार बिहान उनको मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान अनुसार यादव होटलमा एक युवतीसँग सँगै बसेका थिए । घटनास्थलबाट धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या प्रकरणमा ती युवतीको संलग्नता हुन सक्ने आशंका गरेको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्