सिरहामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

सिरहाः सिरहामा बिहिबार बेलुका खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका ३ का ३५ वर्षीय मोतीराम सदा रहेका छन् ।
घरायसी विवादका क्रममा २५ वर्षीय श्याम सदाले आफ्ना दाइ मोतीरामलाई खुकुरी प्रहार गरेका थिए । छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनापछि आरोपी श्याम फरार रहेका छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार दुई पक्षबीचको झगडा छुट्याउने क्रममा श्यामले दाजु मोतीरामलाई खुकुरी प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।