चुरेको दीर्घकालिन संरक्षण अबको आवश्यकताः प्रधानमन्त्री ओली

सिमरा: प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको सुख्खाग्रस्त अवस्था अन्त्य गर्नका लागि चुरे क्षेत्रको दीर्घकालिन संरक्षण जरुरी रहेको बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुरे क्षेत्र संरक्षण नभएसम्म मधेशमा सुख्खाग्रस्त क्षेत्र अवस्था अन्त्य नहुने बताए ।
‘तराईमा सुख्खाले समस्या बनाएको छ । महोत्तरी र सर्लाही खेतमा रोपाइँ भएको देखिन । बाराको खेतमा अलि अलि रोपाइँ भएको रहेछ’ हेलिकप्टरबाट अवलोकन गरेका प्रधानमन्त्री ओलीले भने ‘अब दीर्घकालिनरुपमा चुरेको संरक्षण जरुरी छ । चुरेमा तालतलैयाको निर्माण गर्नुपर्छ ।’
मधेशमा खानेपानी र सिचाइँको कमी नहोस् भनेर आफूले सुनकोशी–मरिन डाइभर्सनको काम सुरुवात गरेको बताउँदै प्रधानमन्त्री ओलीले सोचेअनुसार काम हुन नसकेको बताए । सुनकोशी–मरिन डाइभर्सन कामलाई गति दिने बताउँदै ओलीले लगाईसकेका ठेक्काको काम तुरुन्तै पूरा गर्ने र नयाँ ठेक्काको काम अघि बढाउने बताएका छन् ।
उनले सुनकोशी–मरिन डाइभर्सन निर्माण सम्पन्न भएपछि मधेस प्रदेशको पाँच जिल्लाको एक लाख ८५ हजार बिगाह जमिनमा सिचाइँ गर्न सकिने बताए ।
प्रधानमन्त्रीले ओलीले मधेसको वर्तमान समस्या समाधानका लागि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेर विपद् व्यवस्थापनको काम गरिरहेको बताएका छन् । सरकारले गृह मन्त्रालयमार्फत मधेशका जिल्लामा देखिएको समस्या समाधान गर्न तत्काल डिप बोरिङलगायतको काम गर्न निर्देशन दिईसकेको ओलीको भनाइ थियो ।