हुलाकी सडकलाई अविछिन्न राजमार्गका रुपमा अघि बढाउँछौः प्रधानमन्त्री ओली

सिमरा: प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको दक्षिण भागबाट मेचीदेखि महाकाली पुग्न सकिने हुलाकी सडक लगभग पूरा भएको बताएका छन् ।
बाराको परवानीपुरमा शुक्रबार परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही स्थानमा देखिएको प्राविधिक समस्याबाहेक हुलाकी पूरा भएको बताए ।
‘मधेसको दक्षिण भेगबाट मेचीदेखि महाकाली पुग्न सकिने हुलाकी सडक अब लगभग पूरा भएको छ’ प्रधानमन्त्री ओलीले भने ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा यो कामको सुरुवात गरेको थियो । अब यसलाई अविछिन्न राजमार्गको रुपमा अघि बढाउँछौ ।’
ठेकेदारको कमी कमजोरीले केही स्थानमा काम गर्न ढिलाई भईरहेको बताउँदै प्रधानमन्त्री ओलीले यसलाई छिट्टै पूरा गरिने बताए । माटो परिक्षण, डिजाईनमा त्रुटी हुँदा धनुषा र सिरहामा पुल भासिने समस्या देखिएको उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले अब छिट्टै हुलाकी सडकको काम सम्पन्न हुने बताए ।
वर्तमान सरकारले विकासको कामलाई गति दिईरहेको उनको भनाई थियो । उनले पछिल्लो एक वर्षमा मात्रै तीन हजार पाँच सय भन्दा बढी पुल र नौ सय ५० किलोमिटर कालोपत्रे निर्माण भएको बताए । लामो समयको अस्थिरता अन्त्य गरेर सरकारले नेपाललाई विकास गतिमा अघि बढाईरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।