पर्सामा लागूऔषधसहित एक जना पक्राउ

सिमराः पर्सा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका २ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी धोरेबाट खटिएको नियमित चेकिङ टोलीले भेडिअर्वा गाउँबाट धोरेतर्फ आउँदै गरेका सहनीलाई रोकेर जाँच गर्दा बुप्रेनोरफिन १५० एम्पुल, डाइजापाम १५० एम्पुल र प्रोमेथाजिन १५० एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सहनीले बोकेको निलो रंगको झोला खानतलासी गर्दा उक्त झोलामा आलु र प्याजभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध बरामद भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।