मधेश प्रदेशमा कार्यसम्पादन मूल्यांकनमा पर्सा पहिलो, एसपी मिश्रको चौतर्फी प्रशंसा


eShilalekh

१२ श्रावण २०८२, सोमबार १८:३१

सिमराः मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रदेशभरबाट उत्कृष्ट भएको छ। प्रदेशस्तरीय मूल्यांकनमा सबैभन्दा उच्च ९०.१९ प्रतिशत अंकसहित पर्सालाई सर्वोत्कृष्ट घोषणा गरिएको हो ।

प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा पर्साले पहिलो पटक यो सफलता प्राप्त गरेको हो । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदीका अनुसार ४० वटा बुँदामा आधारित मूल्यांकनमा पर्सा प्रहरीले समग्र सुरक्षाको अवस्था, अपराध नियन्त्रण, लागुऔषध तथा तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, मानव बेचबिखन र कर्तव्यज्यानसम्बन्धी मुद्दामा उल्लेखनीय सफलता प्राप्त गरेको छ।

६० करोडको सामान नियन्त्रण, १५०० बढी फरार पक्राउ
पर्सा प्रहरीले हालैको अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी, तस्करी र भन्सार छलीका सामान नियन्त्रण गरी सम्बन्धित निकायमा बुझाएको छ। साथै विभिन्न अदालतबाट फैसला भई फरार रहेका एक हजार पाँच सय ११ जना प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको छ ।

लागुऔषध नियन्त्रणमा ऐतिहासिक सफलता
पर्सा प्रहरीले हालसम्मकै ठूलो मात्रामा लागुऔषध नियन्त्रण गरेको छ। तीन सय १९ केजी चरेससहित ट्रक र अभियुक्त नियन्त्रणमा लिनुका साथै ६ सय २४ केजी चरेस, एक हजार पाँच सय ६१ केजी गाँजा, एक केजी ५९० ग्राम अफिमलगायतको लागूऔषध बरामद गरेर एक सय ५३ जना कारोबारीलाई कानुनी दायरामा ल्याएको छ।

मानव बेचबिखन र कर्तव्यज्यान मुद्दामा पनि उत्कृष्टता
मानव बेचबिखन विरुद्ध १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारबाही गरिएको छ। कर्तव्यज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा प्रतिवादी पक्राउ र अनुसन्धानतर्फ पनि पर्सा प्रहरी अन्य जिल्लाहरूको तुलनामा अगाडि देखिएको छ।

प्रहरी भौतिक संरचना र सामुदायिक सहभागितामा जोड
प्रहरी उपरीक्षक मिश्रले कार्यालयको भौतिक संरचना व्यवस्थापन तथा सौन्दर्यीकरणमा ध्यान दिएका छन्। साथै धार्मिक सद्भाव कायम राख्न हनुमान जयन्ती, गहवामाई रथ यात्रा, मोहरमजस्ता पर्वहरूमा योजनाबद्ध सुरक्षा रणनीति अपनाउँदै समाजमा शान्ति सुरक्षाको सन्देश प्रवाह गरेका छन्।

पहिलो पटक पर्साको शीर्ष स्थान
२०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक शीर्ष स्थानमा आउन सफल भएको हो। यस उपलब्धिले जिल्ला प्रहरी कार्यालय पर्सालाई मधेश प्रदेशमै अनुकरणीय उदाहरण बनाएको छ।

प्रहरी उपरीक्षक गौतम मिश्रको कुशल नेतृत्व, प्रतिबद्धता र समर्पणले मधेश प्रदेशका लागि सुरक्षा प्रवर्द्धनमा नयाँ उचाइ दिएको भन्दै विभिन्न निकायबाट प्रशंसा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्