मधेश सरकारद्वारा बीमा कार्यक्रम संचालन, ६ हजार ६ सय नागरिक बीमित


eShilalekh

१२ श्रावण २०८२, सोमबार २०:०३

सिमराः मधेस प्रदेश सरकारले सामाजिक सुरक्षा सुदृढीकरण र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित घरधुरी तथा नागरिक बीमा कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ। साउन १ गतेदेखि सुरु भएको यस कार्यक्रमले पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकलाई बीमाको दायरामा ल्याउने भएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अवधेश कुमार झाका अनुसार करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा व्यवस्था गरिएको छ। उनले यो कार्यक्रमलाई प्रदेश सरकारको सामाजिक सुरक्षा नीतिको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन् । ‘बिमा योजना आम नागरिक तथा सीमान्तकृत समुदायलाई प्राकृतिक विपद्, दुर्घटना र आकस्मिक मृत्युबाट सुरक्षा दिने उद्देश्यले सुरु गरिएको हो’ सल्लाहकार झाले बताए।

के-के समेटिएका छन् बीमा योजनामा?

घरधुरी बीमाअन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी–हुरीजस्ता आपतकालीन घटनाबाट हुने क्षतिको क्षतिपूर्ति दिइनेछ।
यसैगरी नागरिक बीमा योजनाले आकस्मिक मृत्यु, शारीरिक अपाङ्गता, र दुर्घटनाबाट हुने घाइते अवस्थालाई समेत समेटेको छ।
नागरिक बीमा १० लाख रुपैयाँसम्म र घरधुरी बीमा पाँच लाख रुपैयाँसम्मको व्यवस्था गरिएको हो ।

बीमा दाबीका लागि आवश्यक प्रक्रिया

पीडितले बीमा दाबी गर्नका लागि साक्षीसहितको निवेदन , प्रहरी प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय तहको सिफारिस, मधेस प्रदेशको नागरिक भएको प्रमाणसहितका कागजातहरू अनिवार्य हुने जनाएको छ । प्रदेश सरकारले पारदर्शी र सहज कार्यविधिमार्फत पीडितले राहत सहज रूपमा प्राप्त गर्न सक्ने दाबी गरेको छ।

नागरिकलाई सहभागिताको आह्वान

मधेस प्रदेश सरकारले पहिलोपटक यस्तो व्यापक बीमा योजना सुरु गरेको भन्दै नागरिकहरूलाई योजनामा सहभागिता जनाउन आग्रह गरेको छ। यस कार्यक्रममार्फत दिगो सामाजिक सुरक्षा प्रणालीको निर्माण हुने र आम नागरिकको जीवनमा नयाँ सुरक्षा भावना जाग्ने मधेश सरकारको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्