बागमती नदीमा बेपत्ता भारतीय युवकको शव १५ किलोमिटर तल भेटियो

रौतहट: बागमती नदीमा बेपत्ता भएका एक भारतीय युवकको शव घटनास्थलदेखि करिब १५ किलोमिटर तल फेला परेको छ। भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंहको शव आइतबार रौतहटको गुजरा नगरपालिका ७ पल्टुवास्थित बागमती नदीको नहरमा फेला परेको हो।
प्रहरीका अनुसार शनिबार चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीको झोलुंगे पुल नजिक नुहाउन गएका सिंह अचानक आएको पानीको भेलले बगाएर बेपत्ता भएका थिए ।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेक्का रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको थियो। खोजतलासको क्रममा आइतबार सिंहको शव घटनास्थलबाट झन्डै १५ किलोमिटर पश्चिम बगेर पल्टुवाको बागमती नहरमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले शवलाई नदीबाट निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा पठाएको छ। पोस्टमार्टमपछि शवलाई पीडित परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।