पानी जमेको विषयलाई नराकात्मक कोणबाट ट्रोल गरेको भन्दै मेयर पौडेलले आशिकालाई दिए धन्यवाद !

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) राजन पौडेलले आशिका तामाङले नगर अस्पतालमा बनाएको पछिल्लो भिडियोप्रति असन्तुष्टी जनाएका छन् ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर पौडेलले बर्खाको समयमा बाछिट्टा छिरेर पानी जमेको विषयलाई नकारात्मक कोणबाट ट्रोल गरेको उल्लेख गरेका छन् । बर्खाको समयमा पानी जम्ने स्वभाविक विषयलाई नकारात्मक कोणबाट ट्रोल गरेको भन्दै मेयर पौडेलले आशिका तामाङलाई धन्यवाद समेत दिएका छन् ।
‘अहिले सुख्खा ग्रस्त हाम्रो एरियामा पानी परेको छ । पानी परेका बेला पानी हुने, बाछिटा छिर्ने, गहिरो र भिरालो भएको ठाउँमा पानी जम्ने स्वभाविक कुरालाई नकारात्मक कोणबाट ट्रोल गरेकोमा धन्यवाद!!! भन्न सकिन्छ!!! अभियन्ता आशिका तामाङलाई !!!’ मेयर पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् । उनले उक्त प्रतिक्रियामा आशिका तामाङलाई समेत मेन्सन गरेका छन् ।

नगर अस्पतालको भवन निर्माणको क्रममा रहेको उल्लेख गर्दै मेयर पौडेलले यसअघि संचालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा संचालन भईरहेको बताएका छन् । मेयर पौडेलले तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रको भवनबाट दैनिक दुई सय जनाले सेवा लिईरहेको उल्लेख गरेका छन् । सेवाग्राहीको चाप बढेपछि अस्थायी प्रतिक्षालय बनाएको मेयर पौडेलको भनाई छ ।
आशिका तामाङले बनाएको भिडियोमा केही सेवाग्राहीहरु स्वास्थ्य सेवा लिनका लागि प्रतिक्षारत देखिन्छन् । उनिहरु बसेको ठाउँ र वरपर पानी जमेको देखिन्छ । आशिकाले उक्त भिडियो ‘नगर अस्पताल सिमरा, जहाँ लड्यो भने देखिन्छ ठूलो तारा’ भन्दै आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन् ।
अस्पतालको परिसरमा कुकुर सुतिरहेको र छेउमै केही फोहोर वस्तु देखिएको दृश्य भने बिर्सनलायक छ । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ । यो समाचार तयार पार्दासम्म उक्त भिडियो एक लाख ३८ हजार जनाले हेरिसकेका छन् ।