कक्षा १२ को नतिजा सार्वजनिक: ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, १ लाख ५३ हजार ननग्रेडेड


eShilalekh

१९ श्रावण २०८२, सोमबार १९:५७

सिमराः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गरेको छ। बोर्डको बैठकले निर्णय गरी सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने आंशिकतर्फ ३६.४९ प्रतिशतले मात्र सफलता प्राप्त गरेका छन्।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट जीपीए ३.६ देखि ४.० सम्म ल्याएका छन्। त्यस्तै ५५ हजार ८९६ जनाले ३.२१ देखि ३.६० सम्म, ९४ हजार २६८ जनाले २.८० देखि ३.२० सम्म, ६९ हजार ८१२ जनाले २.४१ देखि २.८० सम्म र ८ हजार ९६४ जनाले २.२१ देखि २.४० जीपीए ल्याएका छन्। जीपीए २.२० भन्दा कम ल्याउने २३ जना मात्रै रहेका छन्।

नतिजा अनुसार १ लाख ५३ हजार ८८२ जना विद्यार्थी भने ननग्रेडेड भएका छन्। यस्ता विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते संचालन गरिने बोर्डले जनाएको छ।

यस वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी कुल ५ लाख १० हजार ९८७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ २ लाख ४२ हजार ४६५ र आंशिकतर्फ ४१ हजार ८४० जनाले ग्रेड प्राप्त गरेका छन्।

यसैबीच विभिन्न कारणले १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्