मधेस प्रदेशसहित ६ प्रदेशका २९ जिल्लामा फैलियो लम्पी स्किन रोग


eShilalekh

२२ श्रावण २०८२, बिहीबार १५:०२

सिमराः मधेस प्रदेशसहित ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा सर्ने लम्पी स्किन रोग फैलिएको छ ।

मधेस प्रदेशका आठ वटै जिल्लामा संक्रमण फैलिएको हो । पशु सेवा विभागका अनुसार मधेसमा हालसम्म चार हजार चार सय ९२ पशु संक्रमित छन् भने एक सय ७९ पशुको ज्यान गएको छ ।

सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको विभागले जनाएको छ । असार ६ गते देखि २० साउनसम्म कोशीका ११ जिल्लामा फैलिएको लम्पी स्किनको संक्रमणबाट २२ हजार एक सय २२ पशु संक्रमित भएका छन् भने ६ सय ३७ वटा पशुको ज्यान गएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यसैगरी बागमती प्रदेशका पाँच जिल्लामा फैलिएको संक्रमणले सात सय ९३ पशु संक्रमित हुँदा ३० को मृत्यु भएको छ । लुम्बिनीका तिन जिल्लामा १६ पशु संक्रमित भएका छन् भने गण्डकी र कर्णालीका १–१ जिल्लामा संक्रमण फैलिएको छ ।

पशु सेवा विभागका अनुसार हालसम्म देशभर आठ सय ४६ पशुचौपायाको मृत्यु भएको छ भने २७ हजार चार सय २५ पशु संक्रमित भएका छन् ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा भने लम्पी स्किन रोगको पुष्टि नभएको विभागले जनाएको छ ।

रोग नियन्त्रणका लागि विभागले सुदूरपश्चिम बाहेकका ६ वटै प्रदेशमा पाँच लाख ६१ हजार सात सय ५१ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्