सामुदायिक विद्यालयका शिक्षकको शैक्षिक योग्यता र तालिका सार्वजनिक गर्न जीतपुरसिमराको निर्देशन


eShilalekh

२२ श्रावण २०८२, बिहीबार २०:५१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले नगर भित्रको सामुदायिक विद्यालयका शिक्षकहरूको अध्यापन तालिका र शैक्षिक योग्यता सार्वजनिक गर्न निर्देशन दिएको छ ।

शिक्षकहरूले विद्यालय समयमै अन्य विद्यालय वा संस्थामा समेत अध्यापन गर्ने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले कडाइका साथ अनुगमन गर्ने निर्णय लिएको हो। यसै सन्दर्भमा बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै उपमहानगरले शिक्षकको योग्यता, व्यक्तिगत विवरण र स्वीकृत पठनपाठन तालिका सार्वजनिक गर्न निर्देशन दिएको हो।

केही विद्यालयमा न्यून शैक्षिक योग्यता भएका शिक्षकलाई उच्च कक्षामा अध्यापन गराउँदै अतिरिक्त सेवा सुविधा दिइएको उजुरी आएपछि उपमहानगरले कक्षा सञ्चालन, समय तालिका र शिक्षकहरूको भूमिकाबारे स्पष्टता ल्याउन यो कदम चालेको हो । विद्यालयले आगामी भाद्र २ गतेभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शिक्षकहरूको विवरण उपमहानगरपालिकाको शिक्षा महाशाखामा पेश गर्नुपर्नेछ। साथै विद्यालयको आधिकारिक फेसबुक पेजमार्फत पनि सूचना सार्वजनिक गर्न भनिएको छ ।

उपमहानगरले शिक्षकहरूले कार्यरत विद्यालयबाहेक अन्यत्र अध्यापन गर्नुपरेमा पूर्व स्वीकृति लिनुपर्ने नियम अवलम्बन गर्न समेत स्पष्ट पारेको छ ।

शिक्षाको गुणस्तर अभिवृद्धि र पारदर्शिता कायम गर्न यो कदम चालिएको उपमहानगरका एक अधिकारीले जनाएका छन्। उपमहानगरपालिकाले विद्यालयको समग्र अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यस्ता नीति लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्