जीतपुरसिमरा ४ औराहमा ‘ड्रप ड्रग्स अभियान’ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न


eShilalekh

२२ श्रावण २०८२, बिहीबार २०:३८

सिमराः लागूपदार्थ विरुद्धको ‘ड्रप ड्रग्स अभियान’ अन्तर्गत बिहीबार ईलाका प्रहरी कार्यालय सिमराको समन्वयमा जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

ईलाका प्रहरी कार्यालय सिमराबाट सञ्चालित अभियान अन्तर्गत प्रहरी निरीक्षक सुभाष साहको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल रा. मा. वि. औराहा र शुभतारा इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरू, अभिभावक, सरोकारवाला निकायका प्रतिनिधि, घण्टीमाई सहकारीकी अध्यक्ष कोपिला सिंखडा, सचिव त्रिलोक बिक्रम शाह, प्रवन्धक नविन खड्कालगायत सहकारीका पदाधिकारी, कर्मचारीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक साहले लागूपदार्थ सेवनले व्यक्तिको स्वास्थ्य, पारिवारिक जीवन, सामाजिक सम्बन्ध र भविष्यमा पर्ने असरका विषयमा विस्तृत रूपमा जानकारी गराए। उनले किशोरकिशोरीहरूलाई लागूपदार्थबाट टाढा रहन, सजग हुन र सकारात्मक जीवनशैली अपनाउन आह्वान गरे।

‘ड्रप ड्रग्स अभियान’ अन्तर्गत बारा जिल्लाका विभिन्न स्थानमा यस्ता कार्यक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियानको उद्देश्य युवाहरूमाझ लागूपदार्थप्रति चेतना फैलाउँदै अपराध र सामाजिक विकृति न्यूनीकरण गर्नु रहेको छ।

प्रतिक्रिया दिनुहोस्