निजगढ नगरपालिकालाई अर्थ मन्त्रालयमार्फत चार पांग्रे सवारी साधन हस्तान्तरण

काठमाडौं: युएसएआईडीको स्वामित्वमा रहेको एक चार पाङ्ग्रे सवारी साधन आइतबार निजगढ नगरपालिकालाई हस्तान्तरण गरिएको छ। अर्थ मन्त्रालयको भदौ ३ गतेको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयका प्रतिनिधिले उक्त सवारी साधन नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
सिंहदरवारमा सवारी साधन हस्तान्तरण गर्ने क्रममा बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, उनका स्वकीय सचिव दामोदर मैनालीको उपस्थिति रहेको थियो । मैनालीले नगरपालिकाको लागि उक्त सवारी साधन उपलब्ध गराउन भूमिका खेलेका थिए ।
निजगढ नगरपालिकाले प्राप्त गरेको सवारी साधन स्थानीय सरकार सञ्चालन, सुशासन प्रवर्द्धन, योजना अनुगमन र नागरिकलाई सेवा प्रवाहमा सहयोगी हुने विश्वास सांसद मैनालीले व्यक्त गरेका छन् । निजगढ नगरपालिका सांसद मैनालीको निर्वाचन क्षेत्र भित्र पर्दछ ।
सवारी साधन प्राप्त भएपछि नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले धन्यवाद दिएका छन् । नगरपालिकाबाट प्रवाह हुने सेवामा सवारीसाधनको प्रयोग हुने पुरीको भनाई छ । पुरीले सवारी साधन माग गर्दै गत चैतमा मन्त्रालयलाई पत्र लेखेका थिए ।