बारा र पर्सामा हैजा विरुद्ध खोप अभियान


eShilalekh

२३ आश्विन २०८२, बिहीबार १४:१३

सिमराः बारा र पर्सामा हैजाको संक्रमण नियन्त्रण गर्न सरकारले विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ ।

परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा अभियान कात्तिक महिनाभित्र सञ्चालन गरिने तयारी गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका १४ स्थानीय तह र बाराका ६ स्थानीय तहमा एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई मुखमार्फत खोप दिइनेछ । यो खोप एकपटक मात्रै लगाउनुपर्ने जनाइएको छ ।

मन्त्रालयले हैजाको संक्रमण रोकथाम, सार्वजनिक स्वास्थ्य सुरक्षाको सुदृढीकरण र जनस्वास्थ्य जोखिम न्युनिकरणका लागि यो अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ ।

यसअघि काठमाडौं उपत्यका र कपिलवस्तु जिल्लामा यस्तै खोप अभियान सञ्चालन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्