सूर्य नेपालद्वारा ईलाका प्रशासन कार्यालय सिमरालाई कम्प्युटर, प्रिन्टरलगायतको सामग्री सहयोग

सिमराः सूर्य नेपाल प्रालिले सिमरास्थित ईलाका प्रशासन कार्यालयलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर र स्क्यानरसहितका सामग्री सहयोग गरेको छ। जेनजी प्रदर्शनका क्रममा भदौ २४ गतेको भएको तोडफोड, लुटपाट र आगजनीमा भौतिक संरचना र उपकरणहरू नष्ट भएपछि प्रशासनिक कामकाज प्रभावित बनेको थियो।
कार्यालयको सेवा पुनः सुचारु गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई थान डेस्कटप कम्प्युटर, दुई थान ल्यापटप, दुई थान प्रिन्टर र एक थान स्क्यानर सहयोग स्वरूप हस्तान्तरण गरेको हो।
सूर्य नेपालको टोली पुगेर कार्यालयका प्रमुख राजेन्द्र प्रसाद कडेललाई सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख कडेलले प्रदर्शनकारीहरूको आक्रमणबाट कार्यालयका सूचना प्रविधिसम्बन्धी उपकरण नष्ट हुँदा नागरिकता लगायतका सेवा अवरुद्ध बनेको अवस्थामा सूर्य नेपालबाट प्राप्त सहयोगले सेवा पुनः सुचारु गर्न ठूलो सहयोग पुगेको बताए । उनले सूर्य नेपालप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको बताए ।
सूर्य नेपालका उद्योग प्रमुख सुरेशकाजी श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत कठिन परिस्थितिमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले सहयोगका सामग्रीको उचित प्रयोगबाट कार्यालयको सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सामग्री हस्तान्तरण कार्यक्रममा सूर्य नेपाल प्रालिका आशिष अधिकारी, यज्ञबहादुर आले, शेषराज अधिकारी, इलाका प्रशासन कार्यालयका साविर अंसारीलगायतको उपस्थिति रहेको थियो।