बिलभन्दा बढी सामान बोकेको ट्रकसहित एक जना पक्राउ

सिमराः मकवानपुर प्रहरीले बिल बिजकभन्दा बढी सामान लोड गरिएको कन्टेनर ट्रकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १४ पिपराका ४५ वर्षीय हिरालाल प्रसाद कुर्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको लु२ख ४०४१ नम्बरको कन्टेनर ट्रक हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा रोकेर जाँच गर्दा करिब २८ लाख ७० हजार रुपैयाँ बराबरको मालसामान बरामद गरेको हो।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक, चालक र बरामद गरिएको मालसामानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको छ ।





