पर्सामा ट्रयाक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिमराः पर्साको पर्सागढी नगरपालिकामा बुधबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्सागढी ८ हरपुरका २५ वर्षीय प्रितम पटेल रहेका छन् ।
बाराको जितपुरतर्फ आउँदै गरेको ०३–०३६–प १०३९ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई धान लोड गर्न सडकमै रोकिएको ना६त ५०९४ नम्बरको ट्रयाक्टरको टेलरमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार रहेका सोही स्थानका २७ वर्षीय निरज साह कलवार गम्भीर घाइते भएका छन् । हाल उनको उपचार बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा भइरहेको छ ।
दुर्घटनापछि ट्रयाक्टर चालक र सवारी धनी दुवै जना फरार रहेका छन् । उनीहरूको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।