लाखौं मूल्य बराबरको भन्सार छलिका सामानसहित दुई जना पक्राउ

सिमराः मकवानपुर प्रहरीले शुक्रबार बिहान लाखौं मूल्य बराबरको भन्सार छलिका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट बृन्दावन नगरपालिका ९ का २० वर्षीय प्रदिप कुमार चौधरी र गरुडा नगरपालिका ४ का ३१ वर्षीय बिजय साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले करिब रु.३४ लाख बराबरको भन्सार छलिका कपडा तथा प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१च–९०२३ नम्बरको गाडीलाई हेटौंडा उपमहानगरपालिका १५, रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको एक चार्जिङ स्टेसन अगाडि जाँच गर्ने क्रममा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ ।
गाडीमा पछाडिको ढालामा लुकाइ राखिएको अवस्थामा १४ लाख रुपैयाँ बराबरको साडी एक सय ३० थान, कुर्ता ६९६ थान र टप्स एक सय ७५ थान गरी जम्मा एक हजार एक थान कपडा बरामद गरिएको छ ।
साथै २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित पटकाजन्य पदार्थहरू समेत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जनाएका छन् ।
बरामद सामानसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।