३५ लाख कित्ता शेयर आईपीओमार्फत बिक्री गर्दै होटल ‘इच्छा’


eShilalekh

१५ मंसिर २०८२, सोमबार १९:२५

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित पाँचतारे होटल ‘होटल इच्छा’ ले अब सर्वसाधारणका लागि ३५ कित्ता शेयर बिक्री गर्ने भएको छ । होटलमा सोमबार सम्पन्न साधारणसभाले शेयर खुल्ला गर्ने निर्णय गरेको हो ।

सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरित हुँदै होटलले यसअघि २५ प्रतिशत प्रोमोटर शेयर बिक्री गरिसकेको थियो । प्रोमोटर शेयर बिक्री गरेसंगै होटलमा दुई हजार तीन सय ७९ शेयर सदस्य थिए भने एक अर्ब ४० करोड रुपैयाँ लगानी रहेको थियो ।
होटलले २० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । ३५ लाख कित्ता बिक्री गरेसंगै होटलको कुल लगानी एक अर्व ७५ करोड हुनेछ । जसमा होटलको संस्थापन पक्षको ५५, प्रोमोटर शेयरको २५ र सर्वसाधारणको २० प्रतिशत शेयर हुनेछ ।

होटलका अध्यक्ष इच्छाबहादुर वाग्लेले होटललाई सबैको ‘साझा सम्पत्ति’ का रूपमा स्थापित गर्ने उद्देश्यले सर्वसाधारणमा लगिएको बताए । ‘कम लगानी गर्ने सर्वसाधारणले पनि अपनत्व महसुस गरोस्, जसले गर्दा काम गर्न अझै सहज होस् भन्ने उदेश्य हो’ वाग्लेले इशिलालेखलाई भने ।

होटलको आईपीओ प्रक्रिया अघि बढाउन हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया पूरा गरिरहेको छ । ‘आईपीओसँग सम्बन्धित ७० प्रतिशत काम सकिएको छ’ संचालकमध्येका एक मुनसन वाग्लेले जानकारी दिए । वाग्लेले ६ महिनाभित्र शेयर खुल्ने बताए ।

होटल इच्छाले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज भित्राउने योजना पनि अघि बढाएको छ । जसका लागि दुई प्रख्यात फ्रेन्चाईजसंग वार्ता भईरहेको अध्यक्ष वाग्लेले बताए । फ्रेन्चाइज आएपछि होटलको सेवा स्तर अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

वाग्लेले होटल इच्छा अब होटल मात्रै नभएर ब्रान्ड भएको बताउँछन् । वाग्लेलाई पछिल्लो पटक चन्द्रागिरी हिल्सका संचालकमध्येका एक नवराज नेपालले पनि साथ दिएका छन् । नेपालले आफ्नो प्रतिनिधि गोकर्ण खतिवडामार्फत होटलमा मेजर शेयर लिएका छन् । जसले गर्दा वाग्लेले दरिलो साथ पाएका छन् ।

सिमरामा होटल इच्छालाई ब्रान्ड बनाउने को हुन् इच्छा वाग्ले ?
होटल व्यवसाय र घरजग्गा (रियल स्टेट) क्षेत्रमा सफल नाम मानिने इच्छाबहादुर वाग्लेले आफ्नो व्यवसायिक यात्रा २०४९ सालमा नगरकोटस्थित ‘चौतारी होटल’ बाट सुरु गरेका थिए । २०७६ सालमा नगरकोट छाडेर पूर्ण रूपमा सिमरा केन्द्रित भएका उनले २०७३ साल मंसिर ११ गते होटल इच्छा संचालनमा ल्याएका थिए । होटलको उद्घाटन भारतका योगगुरु बाबा रामदेवले गरेका थिए ।

सिमरामै सुविधासम्पन्न होटलको अभावकाबीच वाग्लेले २३ कठ्ठा जग्गामा ७६ करोड रुपैयाँ लगानी गरी होटल निर्माण गरेका थिए । लगानी सुरक्षित हुने अवस्था कमजोर हुँदाहुँदै पनि उनले सिमरामा ठूलो लगानी गरेर सुविधासम्पन्न होटल संचालनमा ल्याए । जुन अत्यन्तै चुनौतीपूर्ण थियो ।

होटल इच्छाको उदयसँगै सिमराको पहिचान बलियो बन्दै गयो । होटल नेपाल–भारत दुवै तर्फका पर्यटक, सभासम्मेलन र पारिवारिक कार्यक्रमहरूका लागि आकर्षणको केन्द्र बन्यो । यसले स्थानीय व्यवसाय, पर्यटन र सेवाक्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्दै सिमराको आर्थिक गतिविधिमा महत्वपूर्ण टेवा पुर्यायो ।

कोभिड १९ का कारण ठूलो धक्का व्यहोर्नु परेपनि वाग्लेले होटललाई टिकाए । उनले होटलमा सुविधा विस्तारको योजनालाई अघि बढाउँदै लगे । होटललाई पाँचतारे स्तरमा उकासेका उनले अहिले अन्तर्राष्ट्रिय स्तरको बनाउने योजनामा छन् ।
होटलको कोठा क्षमता एक सय पुगेको छ । होटलमा सुविधासम्पन्न कोठासंगै स्विमिङ्ग पुल, सभाहल, क्यासिनो, स्पा, गार्डेन छ । होटलमा प्रत्यक्ष अप्रत्यक्ष दुई सय ६५ जनाले रोजगारी पाएका छन् ।

होटलले गत वर्ष मात्रै १६ करोडको कारोबार गरेको छ । जसबाट ६ करोड मुनाफा आर्जन गरेको छ । होटलले उत्साहजनक मुनाफा आर्जन गर्न थालेपछि वाग्ले अझै हौसिएका छन् ।

होटल इच्छा ब्रान्ड बनेसंगै वाग्लेले जीतपुरसिमरा २१ अमलेखगञ्ज हात्तीसारमा पनि करिब ३८ करोडको लगानीमा ‘गार्डेन सफारी रिसोर्ट’ निर्माण गर्ने भएका छन् । हाल निर्माणाधीन संरचानालाई पुर्ननिर्माण गर्दै रिसोर्ट बनाउन लागिएको वाग्लेले बताए । उक्त होटलमा पनि होटल इच्छा लिमिटेडको शेयर रहनेछ । सिमरा र अमलेखगञ्बाट पर्यटन विकासमा ठूलो काम गर्न सकिने वाग्लेको भनाई छ ।

होटलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पनि होटल इच्छाले सिमरालाई दिएको योगदानको चर्चा गरे । होटल इच्छाले सिमराको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन तथा स्थानीय रोजगारीमा महत्वपूर्ण प्रभाव पारेको पौडेलको भनाई थियो ।

साधारणसभामा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहनशर्मा लामिछाने, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, संचालक मुनसन वाग्लेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्