सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन प्रतितोला दुई लाख ६७ हजार नाघ्यो

सिमराः नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। दिनानुदिन बढ्दो क्रममा रहेको सुनको मूल्य मंगलबार एकैदिन पाँच हजार पाँच सय रुपैयाँले बढ्दै प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज वृद्धि भई नयाँ कीर्तिमानमा पुगेको हो। अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
यसैगरी चाँदीको मूल्य पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढ्दै ४ हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।





