सिमरामा मधेश प्रदेश स्तरीय स्क्राबल प्रतियोगिता सुरु


eShilalekh

११ पुष २०८२, शुक्रबार १८:४२

सिमराः सिमरामा मधेश प्रदेश स्तरीय स्क्राबल प्रतियोगिता सुरु भएको छ । सिमरा पब्लिक इङ्लिस स्कुलको आयोजनामा शुक्रबारदेखि प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको हो ।

दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा बारा, पर्सा र सिरहा जिल्लाका गरी ५० जना विद्यार्थी सहभागी छन् । प्रतियोगितामा बाराका १४, सिरहाका दुई र पर्साका एक विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनेछ भने तीनै जिल्लाबाट एक उत्कृष्ट खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको सिमरा पब्लिक इङ्लिस स्कुलका प्रिन्सिपल बसन्त ढकालले जानकारी दिए । अमेरिकन पोखरा कर्नर र पोखरा सार्वजनिक पुस्तकालयको सहयोग तथा स्क्राबल क्लबको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरेका थिए । उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एनप्याब्सका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, स्क्राबल क्लबका भोजराज सुवेदी, बालजागृति इङ्लिस स्कुल हेटौंडाका संचालक विनोद सुवेदी र आयोजक विद्यालयका प्रतिनिधिले स्क्राबल खेलको महत्वबारे धारणा राखेका थिए ।

वक्ताहरूले स्क्राबल खेललाई मनोरञ्जन मात्र नभई ज्ञान, सोच र सृजनशीलता विकास गर्ने महत्वपूर्ण माध्यमको रूपमा लिनुपर्ने बताएका छन् । स्क्राबल खेलले विद्यार्थीको भाषिक क्षमता, शब्द भण्डार र निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।

पछिल्लो समय स्क्राबल खेलप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै आयोजक सिमरा पब्लिकका प्रिन्सिपल ढकालले प्रदेशका विद्यालयहरूले स्क्राबल खेललाई प्राथमिकतामा राखे विद्यार्थीको समग्र क्षमता विकासमा टेवा पुग्ने बताए ।
प्रतियोगिताको समापन शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई स्क्राबल क्लब बाराका संयोजक सुवास अधिकारीले प्राविधिक सहयोग गरिरहेका छन् ।

उद्घाटन समारोहको सहजीकरण शालिकराम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्