रौतहटमा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ


eShilalekh

४ फाल्गुन २०८२, सोमबार १३:४५

रौतहटः रौतहट प्रहरीले चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा, २३ वर्षीया प्रिया तामाङ, ३५ वर्षीय राज बलम पाख्रिन मगर र चन्द्रपुर १ का २९ वर्षीय प्रशान्त तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार तुलबहादुर लामालाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएको थियो ।

लामाले दिएको बयानका आधारमा प्रहरीले प्रिया तामाङ र राज बलम पाख्रिन मगरलाई पक्राउ गरेको हो ।
उनीहरूको कोठाबाट ब्राउन सुगर तौलने डिजिटल तराजु तथा प्याकेजिङमा प्रयोग हुने प्लास्टिकका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी अनुसन्धानकै क्रममा प्रहरीले प्रशान्त तामाङलाई दुई सय ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्