सर्लाहीमा गोली प्रहारबाट सब–इन्जिनियर यादवको मृत्यु


eShilalekh

४ फाल्गुन २०८२, सोमबार १५:५२

सर्लाही: सर्लाहीको मलंगवामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।

जिल्लाको सर्लाही पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि आइतबार साँझ करिब ८ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सिरहाको सुखीपुरका यादव मलंगवा नगरपालिका १० मा डेरा गरी बस्दै आएका थिए। उनलाई अपरिचित व्यक्तिहरूले घरबाहिर बोलाएर गोली प्रहार गरेका थिए। यादवको देब्रे छातीमा गोली लागेको थियो।

गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि मलंगवा अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको मुटुको नजिक गोली लागेको र उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार अज्ञात समूहले गोली प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्