प्रतिनिधिसभा निर्वाचन: आजदेखि औपचारिक प्रचार–प्रसार सुरु

सिमराः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ।
निर्वाचन आयोग ले जारी गरेको व्यवस्था अनुसार मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न अनुमति दिइन्छ।
सोही प्रावधानअनुसार आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै औपचारिक रूपमा मतदातासमक्ष मत माग्न सकिने जनाएको छ।
दल र उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार गर्न सक्नेछन्। आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि आयोगले विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगको चेतावनी छ। आचारसंहिता राजनीतिक दल तथा सरोकारवालासँग व्यापक परामर्शपछि तयार गरिएको स्मरण गराउँदै सबै दलले पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको आयोगले उल्लेख गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लङ्घनका घटनामा ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरिएको बताए। उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेत गराउने, दण्डजरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्मको कानुनी व्यवस्था रहेको उनले स्पष्ट पारे।
आयोगले निर्वाचनको समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचन प्रक्रियालाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल, अनलाइन माध्यम वा संगठित रूपमा मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने चेतावनीसमेत दिएको छ।





