जेन–जी आन्दोलनका क्रममा फरार कैदी पुनः चोरी मुद्दामा पक्राउ

सिमराः बारा प्रहरीले जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते भीमफेदी कारागारबाट फरार भएका एक कैदीलाई चोरीको आरोपमा पुनः पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनी गाउँपालिका १ का २६ वर्षीय विशाल मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले फरार कैदीको खोजतलास गर्ने क्रममा मुखियालाई प्रसौनी गाउँपालिका १ स्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मुखिया यसअघि किर्ते तथा डाँका मुद्दामा दोषी ठहर भएका थिए । मकवानपुर जिल्ला अदालतले उनलाई पाँच वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
सोही सजाय भुक्तानका लागि उनी भीमफेदी कारागारमा रहेका बेला भदौ २४ गते कारागारबाट फरार भएका थिए ।
पक्राउ परेका मुखियाविरुद्ध चोरी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।





