एमाले उम्मेदवार किसान श्रेष्ठद्वारा जितपुरसिमराबाट घरदैलो अभियान सुरु

सिमरा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले बारा क्षेत्र नं. ४ मा आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। यसै क्रममा मंगलबार जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ बाट एमालेले औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरेको हो।

कार्यक्रममा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा र प्रतिबद्धताहरू प्रस्तुत गरे। घरदैलोका क्रममा उम्मेदवार श्रेष्ठले जनताका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिँदै ती समस्या समाधानका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उम्मेदवार श्रेष्ठले यस क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, कृषि र युवा लक्षित विशेष कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उल्लेख गरे। साथै उनले आगामी निर्वाचनमा जनताको समर्थनसहित भारी मतले विजयी हुने विश्वास व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो। मतदाताहरूले आफ्ना गुनासा, सुझाव र विकासका अपेक्षाहरू उम्मेदवारसमक्ष राखेका थिए।
पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको ठुलो उपस्थितिले चुनावी माहोललाई थप उत्साहजनक बनाएको छ।






