बारा ४ः अनुभव र संगठनले किसानलाई राहत


eShilalekh

१५ फाल्गुन २०८२, शुक्रबार २०:५८

सिमराः बारा क्षेत्र नं. ४ को चुनावी मैदान यतिबेला तातिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि यस क्षेत्रमा उम्मेदवारी दिएकामध्ये ठूला दलबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारलाई योजना र प्रतिवद्धता लिएर घरघरमा पुग्न भ्याईनभ्याई छ । उम्मेदवारहरु तालिका बनाएर मतदातामाझ पुगिरहेका छन् । यो अवसरलाई उत्साहजनक बनाउन दलका नेताकार्यकर्ता र समर्थक नाँचगान गर्दै मतदातामाझ पुगेको दृश्यले चुनावको रौनक झन बढाएको छ ।

यसरी मतदातामाझ पुग्ने उम्मेदवारहरुमध्ये एक हुन् नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) । मुख्य प्रतिस्पर्धाको केन्द्रमा रहेका श्रेष्ठ फागुन ४ गतेदेखि निरन्तर घरदैलो र भेटघाटमा व्यस्त छन् ।

२०७९ सालको निर्वाचनमा करिब १० हजार पाँच मतको फराकिलो मतान्तरले विजयी भएका श्रेष्ठ यसपटक पनि अत्यधिक मते जित्ने दाबी गर्दै चुनावी अभियानमा सक्रिय छन् । उनको दावीलाई यथार्थमा परिणत गर्न एमालेका नेताकार्यकर्ता समेत उत्साहका साथ जुटिरहेका छन् ।

एमालेको केन्द्रदेखि वडातहसम्मका नेता एकतावद्ध भएर श्रेष्ठ जिताउ अभियानमा लागेका छन् । जसले गर्दा लगातार तेस्रो पटक प्रतिनिधिसभा निर्वाचनको चुनाव लडिरहेका श्रेष्ठको मनोबल निकै उच्च देखिन्छ । उनलाई एमालेको बलियो संगठन र विगतको अनुभवले राहत मिलेको छ ।

श्रेष्ठले यसअघि २०७९ सालमा यसै क्षेत्र अर्थात बारा ४ र २०७४ सालमा तनहुँ १ बाट चुनाव लडेका थिए । दुवै निर्वाचनमा ३० हजार भन्दा बढी मत प्राप्त गर्दै उनी निर्वाचित भएका थिए ।

श्रेष्ठले २०७४ सालमा तनहुँ १ मा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता तथा हालका राष्ट्रपति रामचन्द्र पौडेललाई ६ हजार आठ सय दुई मतको मतान्तरले पराजित गरेका थिए । पाँच दलिय गठबन्धनका कारण तनहुँबाट निर्वाचित भएको क्षेत्र वरिष्ठ नेता पौडेललाई छोडेर उनी २०७९ सालमा बारा ४ मा आएका थिए ।

बारा ४ मा उनी हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भईसकेको तत्कालीन नेकपा एकीकृत समाजवादीका तर्फबाट सात दलिय गठबन्धनको उम्मेदवार थिए । उक्त निर्वाचनमा ३० हजार तीन सय ४१ मत प्राप्त गर्दै उनले जित हात पारेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका ४ औराह घर भएका श्रेष्ठ एक दशकभन्दा अगाडीदेखि बारालाई केन्द्र बनाएर आफ्नो व्यवसाय गर्दै आएका छन् । व्यवसायिक पृष्ठभूमिका श्रेष्ठले प्रतिनिधिसभा सदस्यवापत राज्यबाट प्राप्त हुने सेवासुविधा समेत विभिन्न सामाजिक संघसंस्था र स्थानीयलाई सहयोग गर्ने गरेका थिए ।

२०७९ मंसिर ७ गते बारा ४ बाट निर्वाचित भएयता श्रेष्ठले यस क्षेत्रका समस्याहरू संसदमा निरन्तर उठाए र विभिन्न योजना भित्राउन भूमिका खेले । ठूलो शरीर र हक्की स्वभावका कारण उनी संसदमा स्पष्ट र प्रखर वक्ताका रूपमा चिनिए ।
तर राजनीतिक घटनाक्रमले उनको कार्यकाल छोटियो । भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको चुनावी सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटनसहित फागुन २१ गते निर्वाचन घोषणा गर्दा उनी पनि पदमुक्त हुन पुगे । त्यतिमात्र नभई जेनजी आन्दोलनमा उनको औराहस्थित घरमा समेत आगजनी भयो । जसमा चार वटा गाडी, घर पूर्णरुपमा जलेर नष्ट भयो ।

जेनजी आन्दोलनलगत्तै कार्तिक तेस्रो साता उनी आवद्ध नेकपा एकीकृत समाजवादी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भयो । उनी भने एमालेमा फर्किए । मंसिर अन्तिम साता काठमाडौंमा सम्पन्न एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा समेत निर्वाचित भए ।

यसै क्षेत्रको निवर्तमान सांसद समेत रहेका श्रेष्ठलाई एमालेले यसपटक पुनः उम्मेदवार बनायो । त्यसयता उनी चुनावी मैदानमा छन् । श्रेष्ठको मुख्य प्रतिस्पर्धी ठूलो दलको हैसियतले नेपाली कांग्रेसका युवा उम्मेदवार श्यामबाबु गुप्ता हुन् । गुप्ता कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरको संस्थापक नगरसभापति हुन् ।

श्यामबाबु गुप्ता

युवामाझ लोकप्रिय गुप्ता पहिलो पटक चुनाव लडिरहेका छन् । उनीसंग चुनाव लडेको अनुभव छैन । यसअघिको दुईवटा निर्वाचनमा कांग्रेसको नतिजा यस क्षेत्रमा सन्तोषजनक नभएकाले पनि उनको यात्रा चुनौतीपूर्ण देखिन्छ । तर नयाँ अनुहार र युवाको उत्साह उनको मुख्य बल हो ।

श्रेष्ठको अर्का प्रतिस्पर्धी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी । वीरगन्ज महानगरपालिका बहुअरी घर भएका अन्सारी नेकपा माओवादी केन्द्र परित्याग गरेर रास्वपाको उम्मेदवार बनेका हुन् । २०७९ सालमा पर्सा क्षेत्र नं. १ (१) बाट निर्वाचित भएका उनी यसपटक प्रदेशसभा पदबाट राजीनामा दिएर बारा ४ को चुनावी मैदानमा छन् ।

अन्सारी पूर्व माओवादी नेता हुन् । उनी नेकपा माओवादी केन्द्र परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका हुन् । देशभर रास्वपाप्रति देखिएको जनआकर्षणलाई आधार मानेर उनी चुनाव जित्ने रणनीतिमा छन् । पर्साबाट बारा आएका अन्सारीलाई यस क्षेत्र सहज छैन । उनको यात्रा पनि चुनौतीपूर्ण देखिन्छ । एमालेका अनुभवी उम्मेदवार र कांग्रेसका युवा प्रतिस्पर्धीबीच उनलाई बलियो संगठन र स्थायी मताधारको परीक्षा दिनुपर्नेछ । त्यसमाथि उनले पार्टी परित्याग गर्दा असन्तुष्ट बनेका तत्कालिन माओवादी नेताकार्यकर्ता र जसपा नेपालका नेता जितेन्द्र सोनल निकट समूहसमेत उनको विपक्षमा सक्रिय देखिन्छन् ।

रहबर अन्सारी

अन्सारीले मधेश प्रदेशसभामा विद्रोह गर्दै विश्वासको मत नदिँदा सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । सोनल यसै क्षेत्रका बासिन्दा हुन् । प्रदेशसभामा अन्सारीले विश्वासको मत नदिँदा सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपरेको घटनालाई स्थानीयले गम्भीररुपमा हेरेका छन् ।

यससंगै यस क्षेत्रमा जसपा नेपालबाट सन्जु साह कानु उम्मेदवार छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट अजय कुशवाहा मैदानमा छन् त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिलिप शर्मा उम्मेदवार बनेका छन् । तीन वटै दलको मत सम्मानजनक छ ।
राष्ट्रिय परिवर्तन पार्टीबाट नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल चुनावी प्रतिस्पर्धामा छन् । जनमत पार्टीबाट हसनजान मियाँ, राष्ट्र निर्माण दल नेपालबाट समिम मिया अन्सारी र आम जनता पार्टीबाट उमेश कुशवाहा पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

सन्जु साह कानु

कुल ३७ जना उम्मेदवार मैदानमा रहेपनि मतदाताको ध्यान भने ठूला दलतर्फ केन्द्रित देखिन्छ । साना दलका उम्मेदवारहरूले मत विभाजनमा भूमिका खेल्ने सम्भावना भएपनि निर्णायक प्रतिस्पर्धा ठूला दलबीच हुने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्