खल्तीका निर्देशकले बारा ३ बाट मारे बाजी, बलिया उम्मेदवार स्तब्ध

सिमरा : बारा निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। साहले अन्य प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै जीत हासिल गरेका हुन्।
डिजिटल वालेट खल्ती का निर्देशक समेत रहेका साह यसअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी मा थिए। उनी उक्त पार्टीबाट बारा क्षेत्र नं. २ मा चुनाव लड्ने तयारीमा थिए। तर घिसिङको पार्टी रास्वपामा समाहित भएपछि साह पनि रास्वपामा आए र बारा ३ बाट चुनाव लडे। कुलमान उज्यालोतिर फर्किएपनि साह पनि रास्वपामै बसे ।
साहले कुल ४० हजार ६९७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई ३० हजार ६४५ मत अन्तरले पछि पार्न सफल भए। मन्सुरले १० हजार ५२ मत पाएका थिए।

अन्य प्रतिस्पर्धी उम्मेदवारमध्ये जनता समाजवादी पार्टी नेपालका रामबाबु कुमार यादवले ६ हजार आठ सय ८४, नेकपा एमालेकी ज्वालाकुमारी साहले ५ हजार दुई सय ७१, सिके राउत नेतृत्वको जनमत पार्टी का प्रमोद गुप्ताले ३ हजार आठ सय १९, नेपाली कम्युनिष्ट पार्टीका भरतप्रसाद साहले १ हजार सात सय ५१, उज्यालो नेपाल पार्टीका तिर्थबहादुर गुरुङले १ हजार सात सय २६, र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र जैसवारले तीन सय १९ मत प्राप्त गरेका छन्।
क्षेत्र नं. ३ का कुल १ लाख १३ हजार ५२१ मतदातामध्ये ७६ हजार सात सय ५१ मत खसेको थियो। त्यसमध्ये ६९ हजार दुई सय दुई सय मत सदर भएको छ।






