पथलैयास्थित सिटिजन्स बैंकद्वारा विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना


eShilalekh

८ चैत्र २०८२, आईतवार १५:३४

सिमराः पथलैयास्थित सिटिजन्स बैंकले जीतपुरसिमरा उपमहानगरपालिका १६ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा आइतबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। साताव्यापीरुपमा मनाइएको ‘ग्लोबल मनी विक’ को अन्तिम दिन बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो।

वित्तीय ज्ञानको अभावका कारण धेरै मानिसहरू आर्थिक रूपमा पछाडि पर्ने अवस्था रहेकाले यसलाई मध्यनजर गर्दै विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्रछात्रा तथा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बैंकका शाखा प्रबन्धक पुष्पराज भण्डारी, सहायक प्रबन्धक रोशनकुमार सर्राफ र कर्मचारी उमेश कुँवरले सहजीकरण गरेका थिए। उनीहरूले कार्यक्रममा सहभागीहरूलाई रकम बचत गर्ने प्रभावकारी तरिका, आम्दानीअनुसार खर्च व्यवस्थापन गर्ने उपाय, बैंकिङ सेवाको सही प्रयोग, ऋण लिँदा ध्यान दिनुपर्ने पक्ष, लगानीका आधारभूत सिद्धान्त, डिजिटल भुक्तानी प्रणालीको प्रयोग तथा वित्तीय ठगीबाट बच्ने उपायबारे विस्तृत जानकारी गराएका थिए।

भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर बन्नका लागि सानै उमेरदेखि वित्तीय अनुशासनको अभ्यास गर्नुपर्ने र डिजिटल प्रविधिको बढ्दो प्रयोगसंगै हुने साइबर ठगी तथा अनलाइन फ्रडबाट जोगिने विषयमा सहभागीलाई जानकारी गराइएको थियो। सहभागी विद्यार्थीले यस्ता कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न सहयोग पुगेको बताउँदै यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्