वैदेशिक रोजगारी सेवा शुल्क अब बैंकिङ प्रणालीबाट मात्र भुक्तानी गर्नुपर्ने

नगद कारोबार गर्ने म्यानपावर कम्पनीलाई कारबाही गरिने
सिमराः वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि तिर्नुपर्ने सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्न निर्देशन दिएको छ । विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारलाई पारदर्शी बनाउने तथा सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ ।
विभागका अनुसार इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्क अब नगदमा नभई बैंकिङ माध्यमबाट मात्र, प्रयोजन स्पष्ट खुलाएर भुक्तानी गर्नुपर्नेछ । साथै सेवा शुल्क भुक्तानी गरेको प्रमाण, सम्बन्धित कागजात तथा अनलाइन कारोबारको विवरण सुरक्षित रूपमा राख्न पनि सेवाग्राहीलाई अनुरोध गरिएको छ ।
नगद कारोबार गर्दा ठगी भएको अवस्थामा प्रमाण पुऱ्याउन कठिन हुने भएकाले विभागले कुनै पनि इजाजतपत्रवाला संस्था, त्यसका सञ्चालक, कर्मचारी वा प्रतिनिधिलाई नगद रकम नदिन सर्वसाधारणलाई सचेत गराएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कारोबार नगदमा नगर्न स्पष्ट निर्देशन दिइएको छ ।
विभागले सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले नगद कारोबार गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।






