बिर्यानीको गन्धमा ओझेल परेको जीतपुरसिमराको शिक्षा सुधारको बहस

सिमराः जीतपुरसिमराको बिर्यानी प्रकरणले अहिले सामाजिक सञ्जाल फेसबुक र टिकटकको बजार निकै तातेको छ । बिर्यानीको विषयलाई लिएर सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणी भईरहेका छन् । टिप्पणीलाई हेर्ने हो भने सकारात्मकभन्दा नकारात्मक टिप्पणीको संख्या बढी देखिन्छ ।
नहोस् पनि कसरी । भुईमा यत्रतत्र फ्याकिएका बिर्यानीको प्याकेटको भिडियो अनि पृष्ठभूमीमा ‘उपमहानगरले गन्हाएको बिर्यानी खुवायो’ भन्दै पोखिएको आक्रोशको आवाज । यति भएपछि सामाजिक सञ्जाल नतात्ने कुरै भएन ।
बिर्यानी प्रकरणलाई लिएर उपमहानगरपालिकामाथि सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ । आखिर किन गन्हाएको बिर्यानी खुवाउन खोजियो? जनताले तिरेको करबाट किनिएको समानमा हेलचक्राई र स्वास्थ्यमाथि लापरवाही किन? यतिबेला यस्तै प्रश्नको घेरामा छ उपमहानगर ।

केही प्रश्नको जवाफ त जनप्रतिनिधि र कर्मचारीले कार्यक्रम स्थलमा उतिबेलै दिए । ‘झण्डै सात सय जनालाई एकैपटक खुवाउने तयारी गर्दा बिर्यानी बनाउनेको ध्यान पुगेन । गर्मीको समयमा बिहानै प्याक गरेर सिमरादेखि अमलेखगञ्जसम्म ल्याउँदा गन्ध आयो । यो कमजोरी भयो ।’
यी उत्तरले झण्डै पाँच घण्टा कार्यक्रममा बसेर ‘अब सामुदायिक विद्यालय राम्रो बनाउने’ भन्दै बाहिर निस्किएका शिक्षकहरुको पेट भरिएन । भोकाएर रिसाएका केही शिक्षकहरु आफैंले जनप्रतिनिधि र कर्मचारीमाथि प्रश्न तेर्साएर भिडियो बनाउन थाले । केही महिला शिक्षकहरुले गित गाएर हात हल्लाउँदै टिकटक नै बनाए ।
कराडौं लगानी रहेको सामुदायिक विद्यालयको शैक्षिक स्तर दिनानुदिन नाजुक बन्दै गएपछि सुधारको उपाय खोज्न राखिएको उक्त कार्यक्रम सभाहलभित्र शिक्षकहरु उत्सुक देखिन्थे । कार्यक्रममा सामुदायिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र कर्मचारी गरी ६ सय ५० भन्दा बढी सहभागी थिए । सहजकर्ता अभिषेक घिमिरेको प्रस्तुतिले ती सबैलाई बाँधेर राखिरहेको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुको कारण, विद्यालयप्रति अभिभावकको अविश्वास, शिक्षक र विद्यालय व्यवस्थापन समितिको कमजोरी र सुधारका उपायलगायतका विषयमा रहेर सहजकर्ता घिमिरेले सहभागीलाई बुझाईरहेका थिए । जुन कार्यक्रम उपलब्धिमूलक भएको प्रतिक्रिया शिक्षकहरुले कार्यक्रमको बीचबीचमा दिईरहेका पनि थिए ।
कार्यक्रमले ‘आफ्नो विद्यालय आफैं बनाउने’ दायित्व बोध गराएको र उर्जा थपेको प्रतिक्रिया शिक्षकले दिँदा अब उपमहानगरको सामुदायिक विद्यालय रहरलाग्दा हुन्छन् भन्ने आशा पलाईसकेको थियो । काम गर्ने क्रममा आफूहरुबाट भएका कमी कमजोरी र त्रुटीलाई सुधार गर्ने प्रतिवद्धता शिक्षकले सभाहलमै गरिरहेका थिए ।
शिक्षामा सुधार ल्याउने उर्जा बोकेर सभाहलबाट बाहिर निस्किएका केही शिक्षकले बिर्यानीको विषयलाई लिएर नकारात्मक टिप्पणी गर्न कत्तिपनि समय लगाएनन् । केही शिक्षकले जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीमै प्रश्न उठाए । करोडौं लगानी रहेको शिक्षा क्षेत्र दिनानुदिन कमजोर बनिरहँदा उठेका प्रश्नको जवाफ दिन नसकेका शिक्षकहरु गन्ध आएको बिर्यानी बोकेर गर्जिरहेको दृश्य उदेकलाग्दो थियो ।
शिक्षा सुधार केन्द्रीत वृहत् कार्यक्रम आयोजना गर्दा भएको त्रुटीमाथि प्रश्न गर्ने र गित गाएर टिकटक बनाउने शिक्षकले विद्यालयको खस्कँदो शैक्षिक स्तरलाई लिएर आफैले आफैलाई कहिले प्रश्न गर्लान? अनि गितनै गाएर टिकटक कहिले बनाउँलान? त्यो हेर्न बाँकी छ ।
कार्यक्रममा सहभागी सबै शिक्षकहरु बिर्यानीको गन्धमा अल्झिएका भने थिएनन् । गर्मीको समयमा ख्याल नगर्दा बिर्यानीमा गन्ध आएको विषयलाई ठूलो बनाउने भन्दा पनि बषौंदेखि जरो गाडेको शैक्षिक क्षेत्रको दुर्घन्ध हटाउन गरिएको कार्यक्रम महत्वपूर्ण रहेको बहस गर्ने शिक्षक पनि थिए । सामूहिक छलफल गरिरहेका शिक्षकहरुले शिक्षा क्षेत्रमा देखिएको समस्या पहिचान गर्न र त्यसलाई समाधान गरेर विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रमले मार्गनिर्देश गरेको बताईरहेका थिए ।
उक्त कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको उपमहानगरपालिका र प्रध्यानाध्यापकबीचको १७ बुँदे सहमति पनि हो । बिर्यानीमा आएको गन्धको भिडियो बनाउने र गित गाउने शिक्षकले उक्त १७ बुँदे सम्झौतालाई चर्चामा ल्याउनै चाहेनन् । शिक्षकको ध्यान खिच्न नसकेको उक्त १७ बुँदे सम्झौतामा के छ ?

कार्यक्रममै गत वर्षको कक्षा ८ को परीक्षामा ५० प्रतिशत भन्दा बढी नतिजा ल्याएका चार विद्यालयलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा जनजागृति माध्यमिक विद्यालय सखुवाघाट, जनकल्याण आधारभूत विद्यालय नरबस्ती, हंश बाहिना आधारभूत विद्यालय पिपरिया र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नितनपुर रहेका छन् ।
गत वर्षको कक्षा ८ को परीक्षामा सहभागी उपमहानगरका २९ विद्यालयमध्ये चार विद्यालयको नतिजा सन्तोषजनक आउँदा अन्य २५ विद्यालयको नतिजा लज्जास्पद थियो । २५ मध्ये चार विद्यालयको नतिजा नै शून्य आएको थियो ।
करोडौं लगानी भएको सामुदायिक विद्यालयको नतिजालाई लिएर चौतर्फी आलोचना हुन थालेपछि नयाँ शैक्षिक सत्र सुरु हुनुअघि उपमहानगरले सबैलाई एकैथलोमा राखेर उत्प्रेरणामूलक कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा नगरभित्रका ६० विद्यालयका ६ सय ५० भन्दा बढी सहभागी थिए ।

झण्डै सात सय जना अटाउने सभाहल नभएपछि अमलेखगञ्जस्थित होटल क्विक ट्वेन्टीमा गरिएको यो कार्यक्रमको समेत आलोचना भएको थियो । तर शिक्षा क्षेत्रजस्तो संवेदनशील विषयमा सुधार ल्याउन अपरिहार्य रहेको यस्तो कार्यक्रम कहाँ गरियो भन्दा पनि यसले कस्तो नतिजा दियो भन्नेमा केन्द्रीत हुनुपर्ने टिप्पणी समेत भईरहेको छ ।
शिक्षा क्षेत्रमा मात्रै बार्षिक करोडौं रकम खर्च भईरहेको छ । चालु आर्थिक वर्षमा सशर्त र आन्तरिक गरी २३ भन्दा बढी करोड बजेट बिनियोयोजित छ । वार्षिक करोडौं रकम खर्च भईरहेपनि सामुदायिक विद्यालयको शैक्षिक स्तर भने निराशाजनक छ । जुन सुधार गर्न अति आवश्यक छ ।







