रौतहटमा एचआइभी सङ्क्रमितको संख्या बढ्दो, चार सय २५ जनामा सङ्क्रमण पुष्टि

रौतहटः रौतहटमा एचआइभी/एड्स सङ्क्रमितको संख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हाल जिल्लाभर चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहका अनुसार पहिचान भएका यी सबै सङ्क्रमितहरूले हाल नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन् । विगतमा वैदेशिक रोजगारीबाट फर्किनेहरूमा यो समस्या बढी देखिने गरेको भए तापनि हाल जिल्लामै कार्यरत चालक, प्रहरी तथा मजदुर वर्गमा सङ्क्रमणको दर उच्च देखिएको छ ।
भौगोलिक वितरणका आधारमा जिल्लाका १८ वटै स्थानीय तहमा सङ्क्रमितहरू भेटिएका छन् । एआरटी अधिकारी राजकुमार साहका अनुसार सबैभन्दा बढी राजपुर नगरपालिकामा ६३ जना सङ्क्रमित रहेका छन् ।
यसैगरी चन्द्रपुरमा ३७, गौर र इशनाथमा ३५–३५, तथा राजदेवी नगरपालिकामा २५ जना सङ्क्रमित फेला परेका छन् भने अन्य पालिकाहरूमा औसत २०–२० जनाका दरले सङ्क्रमित रहेका छन् । यस तथ्याङ्कले जिल्लाको कुनै पनि क्षेत्र सङ्क्रमणको जोखिमबाट मुक्त नरहेको देखाउँछ ।
प्रादेशिक अस्पताल गौरका चिकित्सक शशी गुप्ताका अनुसार असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग, दूषित सुई–सिरिन्ज तथा सङ्क्रमित आमाबाट शिशुमा यो भाइरस सर्ने गर्दछ ।
उनले समयमै स्वास्थ्य परीक्षण गर्ने, नियमित उपचार पद्धतिमा बस्ने र सुरक्षित व्यवहार अपनाएमा सङ्क्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । यद्यपि, जनचेतनाको स्तर अझै सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।






