किन बन्द गरिए जीतपुरसिमराका चार निजी विद्यालय ?


eShilalekh

२० जेष्ठ २०८३, बुधबार १५:२९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले नगर भित्र रहेका चार वटा निजी विद्यालय एकसाथ बन्द गरेको छ । विविध कारण देखाउँदै उपमहानगरपालिकाले चार वटा विद्यालयलाई शिक्षा व्यवस्थापन सूचना प्रणाली (इमिस) बाट हटाउने निर्णय गरेको हो ।

बन्द गरिएको विद्यालयमा वडा नम्बर १ स्थित माउन्ट एभरेष्ट, वडा नम्बर ३ स्थित रोज एकेडेमी, वडा नम्बर ७ स्थित अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र वडा नम्बर १९ स्थित बाबुलाल एकेडेमी रहेका छन् । उपमहानगरपालिकाले यी चार विद्यालयमा विद्यार्थी भर्ना नगराउन अभिभावकलाई अनुरोध समेत गरेको छ ।

माउन्ट एभरेष्टले कक्षा १२, रोज र अम्ब्रेलाले कक्षा ५, बाबुलालले कक्षा ३ को अनुमति पाएका थिए । उनीहरुले अब कक्षा संचालन गर्न पाउने छैनन् ।

यता शैक्षिक सत्र सुरु भईसकेको अवस्थामा उपमहानगरपालिकाको यो निर्णयलाई चासोका साथ हेरिएको छ । विद्यार्थीहरुलाई अलपत्र पार्ने गरी उपमहानगरपालिकाले निर्णय लिएको भन्दै सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ ।

तर उपमहानगरपालिका शिक्षा महाशाखामा कार्यरत अधिकृत हरिश भट्टले कोही पनि विद्यार्थीहरु अलपत्र नहुने स्पष्ट पारेका छन् । माउन्ट एभरेष्टबाहेक तीन विद्यालयका विद्यार्थीलाई यसअघि नै अर्कोमा सारिएको जानकारी दिँदै भट्टले माउन्टका विद्यार्थीलाई समेत अर्को विद्यालयमा सार्नका लागि कुनै समस्या नभएको र त्यसका लागि उपमहानगरपालिकाले सहजीकरण गर्ने बताए ।

‘विद्यार्थीको जिम्मेवारी उपमहानगरपालिकाले लिन्छ । अलपत्र पारिएको भन्ने कुरामा सत्यता छैन, भ्रममा नपर्न अनुरोध गर्दछु’ भट्टले भने ।

किन बन्द भयो विद्यालय ?

उपमहानगरपालिकाका शिक्षा अधिकृत भट्टका अनुसार मापदण्ड विपरित सञ्चालनमा रहेका कारण विद्यालय बन्द गरिएका हुन् । एउटै भवनमा दुई वटा विद्यालय संचालन गर्ने, अनुमति लिएको स्थानमा भन्दा अन्यत्र गएर विद्यालय संचालन गरेको हुँदा बन्द गर्नुपरेको भट्टको भनाई छ ।

जीतपुरसिमरा वडा नम्बर १ सिमरा ठेगाना रहेको माउन्ट एभरेष्ट स्कुल अहिले जीतपुरसिमरा वडा नम्बर २१ अमलेखगञ्जमा संचालित छ । त्यससँगै यो विद्यालयका संचालकले नाइट एन्जल नामक अर्को निजी विद्यालय समेत संचालन गरिरहेका छन् । दुवै विद्यालयको एउटै भवन छ ।
उक्त विद्यालयका संचालकलाई पटकपटक सचेत गराउँदा समेत वेवास्था गरिएपछि विद्यालय बन्द गरिएको भट्टले जानकारी दिए ।

यसैगरी रोज एकेडेमीका संचालकले न्यू एकता नामक विद्यालय संचालनमा ल्याएका छन् । रोज र न्यू एकता समेत एउटै भवनमा भएपछि एउटा विद्यालय बन्द गरिएको भट्टले बताए ।

बाबुलाल एकेडेमीका संचालकले मिडल्याण्ड एकेडेमी र अम्ब्रेला एकेडेमीका संचालकले अम्ब्रेला एकेडेमी नामक अर्को विद्यालय संचालनमा ल्याएका छन् । दुवै विद्यालय एउटै भवनमा संचालन गर्न नमिल्ले हुँदा एउटा बन्द गरिएको भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्